ताप्लेजुङ । स्थानीय फुङलिङ नगरपालिकाले साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै घरदैलोमै पुगी व्यवसाय दर्ता तथा नवीकरण सेवा प्रदान सुरु गरेको छ ।
उद्योगी तथा व्यवसायीलाई व्यपार व्यवसायमा सहजीकरण गरी सहजता प्रदान गर्न दर्ता तथा नवीकरण हुन बाँकी रहेका व्यवसायलाई कानुनी प्रक्रियामा ल्याउने उद्देश्यले नगरपालिकाले उक्त अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाका अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार उक्त अभियान सुरु गरिएपछि हालसम्म ६५ भन्दा बढी व्यवसाय दर्ता प्रक्रियामा आएका छन् ।
उद्योग तथा व्यवसाय कार्यमा क्रियाशील रहनुपरेका कारण कतिपय व्यवसायी कार्यालयसम्म पुग्न नसकि रहेको अवस्थामा घरदैलोमै सेवा दिँदा उनीहरुलाई सहज भएको घरदैलो सेवालाई निरन्तरता दिइने अधिकृत सुवेदीले जानकारी दिए ।
यसअघि संयुक्त बजार अनुगमन टोलीले दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई निश्चित समयावधि दिँदै कानुनी प्रक्रियामा आउन आग्रह गरेको थियो । सोही क्रममा प्राप्त सुझावका आधारमा व्यवसायीलाई प्राथमिकतामा राखेर घरदैलोमै सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
संयुक्त बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले बजारलाई उपभोक्तामैत्री बनाउन नियमित कार्यतालिका बनाइ अनुगमन सुरु गरिएको जानकारी दिए ।
समितिले छुट्टै कार्यसूची तयार गरी खाद्यान्न, तरकारी, मेडिकल हल, माछामासु पसल, होटल तथा मदिरा पसललाई लक्षित गरी अनुगमनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको सहायक प्रजिअ भट्टराईले बताए ।
नगरपालिकाको उक्त कदमले स्थानीय व्यवसायीलाई कानुनी दायरामा आउन प्रोत्साहित गर्ने तथा उपभोक्ता हित संरक्षण र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस