धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी कार्यक्रममा उनले कुरीतिविरुद्ध समुदायस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिए ।
उनले सडक नाटकसहित विभिन्न माध्यमबाट बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक चेतना बढाउन सहयोग पुग्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगकी मधेस प्रदेश अधिकृत कुमारी शर्माले बालविवाह राष्ट्रिय समस्याका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदाय र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिका-१४ का वडाध्यक्ष पूर्णप्रसाद यादवले आफ्नो वडामा हालसम्म सातवटा बालविवाह रोकिएको जानकारी दिए । उनले आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मुस्लिम महिला कल्याण समाज नेपालकी अध्यक्ष सीमा खानले बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय रणनीति अवलम्बन गरेको बताए । बालविवाहमुक्त समाज निर्माण गर्न सरकार, स्थानीय तह, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सडक नाटकमार्फत बालविवाहका कारण किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो । रासस