• Menu

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार ११:३०

भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि बुधबार बिहान आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।  भ्रमणका क्रममा परराष्ट्र सचिव राईले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा दुवै पक्षले नेपाल-भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा  र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता  गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्ने छन् । रासस