• Menu

दक्षिण अफ्रिकी स्टार क्रिकेटर डेभिड मिलर नेपाल आइपुगे

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १०:५८

दक्षिण अफ्रिकी स्टार क्रिकेटर डेभिड मिलर नेपाल आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

उनी बुधबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।

कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो ।

बायाँहाते ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तरराष्ट्रिय खेल खेल्दै दुई शतक र ९ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन् ।

त्यस्तै, उनले १८० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ८ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् ।

समग्र टी-२० क्रिकेटमा उनको अनुभव अझ प्रभावशाली छ । मिलरले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सलगायत टोलीबाट खेलिसक्नुभएका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए ।

सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा टी-२० अन्तरराष्ट्रिय शतक प्रहार गरेका मिलर विश्व क्रिकेटका अनुभवी मध्ये एक मानिन्छन् ।

तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ । रासस