काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनामा क्षति पुगेर निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा यस वर्ष निर्यात कारोबार बढेको हो।
यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ। बाढीका कारण रोकिएको निर्यात वैकल्पिक जलविद्युत आयोजनाबाट उत्पादित विद्युत पठाउने अनुमति प्राप्त भएपछि पुनः सञ्चालनमा आएको हो।
नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोज महिनामा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो। उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
असोजमा भारततर्फ विद्युत निर्यात द्विपक्षीय विद्युत बिक्री सम्झौता र भारतीय ऊर्जा विनिमय बजारमार्फत गरिएको थियो। सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको विद्युत बिक्री भएको थियो। यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। देशभित्रको माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सञ्चालन
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरु भएको हो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो।
बाढीका कारण द्विपक्षीय सम्झौताअनुसार विद्युत निर्यातका लागि स्वीकृति पाएका आयोजनामा क्षति पुगेपछि भारतको हरियाणा राज्यतर्फको निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत आयोजनाको विद्युत बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि आपूर्ति पुनः सुरु गरिएको हो। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति दिइएको छ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको अवधिमा नेपालले दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्दै आएको छ।
भारततर्फ निर्यात स्वीकृति १,१७९ मेगावाट पुग्यो
यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार विस्तार, निर्यात आम्दानीमा वृद्धि र क्षेत्रीय ऊर्जा व्यापारलाई सुदृढ बनाउन भारत तथा बंगलादेशतर्फको विद्युत निर्यातले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।