• Menu

हिमाल आरोहण र पदयात्रामा जाने पर्यटकलाई सतर्क रहन पर्यटन विभागको आग्रह

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १४:४५

हिमाल आरोहण र पदयात्रामा जाने पर्यटकलाई सतर्क रहन पर्यटन विभागको आग्रह

काठमाडौं । पर्यटन विभागले हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटक र अन्य व्यक्तिहरूलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार, जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिनका आधारमा कात्तिक ११ गतेदेखि १५ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसम प्रतिकूल हुँदा भूस्खलन, बाढीपहिरो तथा हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले पर्यटक, पदयात्री, हिमाल आरोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले मौसमसम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा अवलोकन गर्न, आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै, विभागले हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य संस्थाहरूलाई पनि आकस्मिक स्वास्थ्य समस्या, विशेषगरी उच्च हिमाली क्षेत्रमा देखिने एक्युट माउन्टेन सिकनेसका बिरामीको उपचार तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहन अनुरोध पनि गरेको छ।