काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको कूटनीतिक पहल र गाभीसँगको निरन्तर संवादपछि उक्त सहयोग सुनिश्चित भएको हो।
यसैबीच, गाभीबाट प्राप्त खोप सहायताको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर पनि मिनाहा भएको छ।
मन्त्री मेहताको पहलमा सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै पुरानो दायित्वसमेत मिनाहा भएपछि नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपालले नियमित खोप कार्यक्रममार्फत बालबालिका तथा अन्य लक्षित समूहलाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ। खोप सेवाको निरन्तरता, सर्वसुलभ पहुँच र प्रभावकारिता कायम गर्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाब बढिरहेको परिस्थितिमा सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु तथा फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले राष्ट्रिय खोप कार्यक्रमको दिगोपन कायम राख्न र लक्षित जनसङ्ख्यामा खोप सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।