• Menu

ट्रम्पको दाबी : रुस-युक्रेन युद्ध सम्झौतानजिक पुगेको छ, थप प्रतिबन्ध लगाउन मिल्दैन

नेपाल प्रफिट

२०८३ कात्तिक ५, बिहीबार १२:२५

ट्रम्पको दाबी : रुस-युक्रेन युद्ध सम्झौतानजिक पुगेको छ, थप प्रतिबन्ध लगाउन मिल्दैन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लामो समयपछि पहिलो पटक सम्भावनाको नजिक पुगेको बताएका छन् । उनले वार्ता संवेदनशील अवस्थामा रहेकाले रुसमाथि थप प्रतिबन्ध लगाउँदा कूटनीतिक प्रयास प्रभावित हुन सक्ने उल्लेख गरे ।

ह्वाइट हाउसबाट दक्षिण क्यारोलिना प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरूसँग उनले सम्झौताको सम्भावना बढेका बेला प्रतिबन्ध लगाउनु उचित नहुने बताए । तर, आवश्यक परे रुसमाथि प्रतिबन्ध लगाउने अधिकार आफूसँग रहेको उनको भनाइ दाबी छ ।

इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा रुस र चीनको भूमिका सीमित रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले दुवै देशले उल्लेखनीय हस्तक्षेप नगरेकोमा प्रशंसा गरे । उनले रुस र चीनलाई सहभागी गराएर आणविक निशस्त्रीकरणसम्बन्धी बैठक गर्ने सम्भावनालाई पनि सकारात्मक बताए ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहलस्वरूप लडाइँ रोक्न र कूटनीतिक वार्ता अघि बढाउन युक्रेन तयार रहेको बताएका छन् । फक्स न्युजसँग उनले युद्धविरामपछि अमेरिका र युरोपेली राष्ट्रहरूबाट सुरक्षा प्रत्याभूति खोजिने स्पष्ट पारे ।

डोनबास क्षेत्र त्यागेर युद्ध अन्त्य गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धमैदानमा विजय हासिल गरिरहेको दाबी अस्वीकार गरे । उनले वर्तमान युद्धक्षेत्रको अवस्थालाई आधार बनाएर वार्ता सुरु गर्नुपर्ने र त्यसबाट व्यापक शान्ति योजना अघि बढाउन सकिने बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले भने अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा प्रत्यक्ष भेटवार्ता हुन सक्ने बताएका छन् ।