• Menu

डिप्रोक्स लघुवित्त बन्यो एससीटी कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

नेपाल प्रफिट

२०८३ असोज ३१, शनिबार ०५:५१

डिप्रोक्स लघुवित्त बन्यो एससीटी कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त अग्रणी संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकले झैं आधुनिक डिजिटल भुक्तानी सेवा तथा कार्ड सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन् । एससीटीद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले ग्राहकलाई डिजिटल भुक्तानीका सुविधाहरू प्रदान गर्नेछ ।

कार्यक्रममा संस्थाका प्रतिनिधिले यस ऐतिहासिक सहकार्यले नेपालको ग्रामीण तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

लघुवित्त क्षेत्रमा परम्परागत डिजिटल माध्यमहरूमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई चिर्दै, डिप्रोक्स लघुवित्तले कार्ड सेवाको सुरुवात गर्नु समग्र वित्तीय समावेशीकरण तथा आधुनिक फिनटेक इकोसिस्टमको विकासका लागि एक महत्त्वपूर्ण उपलब्धि  हो ।