• Menu

पाथीभरा मन्दिरमा ३ महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन, २० हजार बढीले गरे दर्शन

नेपाल प्रफिट

२०८३ असोज ३१, शनिबार २०:०८

पाथीभरा मन्दिरमा ३ महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन, २० हजार बढीले गरे दर्शन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी संकलन भएको छ ।

सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप संकलन भएको हो । भेटी संकलन र दर्शनार्थीको संख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिको तथ्यांक अनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी संकलन भएको थियो । भदौमा ६ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी संकलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको संख्या र भेटी संकलन दुवै बढेको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो । रासस