• Menu

सिटिजन्स बैंकद्वारा लुप पर्चेज क्रेडिट र इएमआई सेवासम्बन्धी सम्झौता, के फाइदा हुन्छ ?

नेपाल प्रफिट

२०८३ असोज ३१, शनिबार ०५:४४

सिटिजन्स बैंकद्वारा लुप पर्चेज क्रेडिट र इएमआई सेवासम्बन्धी सम्झौता, के फाइदा हुन्छ ?

काठमाडौं । सिटिजन्स बैंकले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकले सेवाग्राहीलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।

सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड, क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीले सिटिजन्स बैंकको डेबिट कार्ड, क्रेडिट कार्डमार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।

यस सुविधाले सेवाग्राहीलाई आवश्यकताअनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रियालाई सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । सिटीटेक ग्रुपसँगको यस सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सहज र पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । यसबाट सेवाग्राहीले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ उठाउँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सुविधाजनक बनाउन सक्नेछन् ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

त्यस्तै बैंकले नवयुवा लक्षित बचत खाता सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट र सिटिजन्स डिजी बैंक सेवा नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष फ्रिलान्सर सेभिङ्स अकाउन्ट पनि सञ्चालन गरिरहेको छ ।

बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा पनि प्रदान गरेको छ । जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइबाट २० लाख ७८ हजार सेवाग्राहीलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।