हुम्ला . नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
उक्त दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।
प्रहरी सेवामा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्यसम्पादन गरेकोमा उनीहरुलाई पुरस्कार र सम्मान गरिएको हो । त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी गुरागाईंले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै नागरिकलाई सरल र सहजरुपमा सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
निष्पक्षता, इमानदारी र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न सुझाव दिँदै उनले प्रहरीको व्यवहार र सेवाले नै संगठनप्रतिको नागरिकको विश्वास निर्धारण गर्ने बताए ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले कानुनभन्दा माथि कोही पनि नरहेकाले कानुनको पालना र कार्यान्वयनमा सबैमा समान व्यवहार गर्न सम्पूर्ण प्रहरी जनशक्ति प्रतिबद्ध रहेको बताए । रासस