• Menu

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कञ्चनपुरमा साइरन जडान

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार ११:१२

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कञ्चनपुरमा साइरन जडान

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउको बस्तीमा मानव-वन्यजन्तु जोखिम न्यूनीकरणका लागि भीमदत्त नगरपालिका र कनेक्ट परियोजनाको सहयोगमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको हो ।

भीमदत्त-१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले भने, ‘पूर्वसूचना प्रणालीले निकुञ्जबाट जंगली जनावर बस्ती प्रवेश गर्दा साइरन बज्छ र मोबाइलमा सन्देश आउँछ । यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ।’

उनले रातिको समयमा जंगली हात्ती, गैँडालगायत वन्यजन्तु बस्ती प्रवेश गरेर अन्नबालीमा क्षति गर्ने गरेकाले यो प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले हात्ती, बाघ, चितुवा, नीलगाईंलगायत वन्यजन्तुको सम्भावित जोखिमबारे समयमै सूचना दिई स्थानीयलाई सतर्क हुन सहयोग गर्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।

कनेक्ट परियोजनाका प्रमुख मनोजप्रसाद ओझाले मानव-वन्यजन्तु सह-अस्तित्वका लागि पूर्वसूचना प्रणाली प्रभावकारी हुने बताए । ‘पूर्वसूचना प्रणालीमा क्यामेरा जडान गरिएको छ, निकुञ्जबाट जंगली जनावर बस्ती पस्दा फोटो खिच्छ र साइरन बच्छ,’ उनले भने, ‘निकुञ्जका कर्मचारी, सेनाको सुरक्षा पोष्ट र बस्तीका मानिस गरी ४० जनाको मोबाइलमा सन्देश आउँछ ।’

उनले यसले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । कनेक्ट परियोजना र भीमदत्त नगरपालिकाको करिब दश लाख साझेदारीमा उक्त प्रणाली जडान गरिएको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट रातिको समयमा जंगली हात्ती, चितुवा, गैँडा र बँदेलले किसानको अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै गरेका छन् । किसानले पूर्वसूचना पाउँदा बाली जोगाउन र सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको छ । रासस