उदयपुर । उदयपुरमा दुर्गा पूजाका लागि विद्युत लाइन जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका-१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चौधरीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाउने प्रक्रिया भइरहेको छ ।