• Menu

संखुवासभाको दुर्गम हटियामा पुग्यो राष्ट्रिय विद्युत प्रसारण लाइन, किमाथाङ्कामा पनि यसै वर्ष पुर्‍याइने

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार १५:३६

संखुवासभाको दुर्गम हटियामा पुग्यो राष्ट्रिय विद्युत प्रसारण लाइन, किमाथाङ्कामा पनि यसै वर्ष पुर्‍याइने

काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका-३, हटियामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तार भएको छ । प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले भरपर्दो विद्युत सेवा पाउने सुनिश्चित भएको छ ।

यसअघि लघु जलविद्युत आयोजनामार्फत विद्युत उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत आपूर्ति सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्रीफेज मिटर जडान गरी विद्युत आपूर्ति सञ्चालनमा ल्याइएको उल्लेख छ । त्यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी-पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुर्गम क्षेत्रको विद्युत पहुँच विस्तार गर्दै आपूर्तिलाई भरपर्दो बनाउन खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रिय प्रसारण प्रणालीको विस्तारले स्थानीयस्तरमा विद्युतको उपलब्धता र विश्वसनीयता बढाउनका साथै आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रमा विद्युत पुर्‍याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत आपूर्ति पुर्याउने लक्ष्य राखिएको छ ।

संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार निरन्तर अघि बढाइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरपरिवारले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत उपभोग गरिरहेका छन् । बाँकी घरमा भने लघु जलविद्युत तथा सौर्य ऊर्जामार्फत विद्युत सेवा उपलब्ध हुँदै आएको छ ।

हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ । अब किमाथाङ्कासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको त्यस दुर्गम क्षेत्रको विद्युत पहुँच विस्तारमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ ।