• Menu

चार महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु, सातामा ३ दिन सेवा दिइने

नेपाल प्रफिट

२०८३ असोज २७, मंगलबार ११:५५

चार महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु, सातामा ३ दिन सेवा दिइने

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब ४ महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।

गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उनले बताए ।

हवाई सेवा सञ्चालनमा आएसँगै मंगलबार काठमाडौंबाट १३  यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौं फर्किएको छ ।

नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौंसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौं-गुल्मी र गुल्मी-काठमाडौं उडान गर्दै आएको छ ।

निगमले आजदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मंगलबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ७:१५ बजे र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ८:१५ बजे र शुक्रबार काठमाडौंबाट रेसुङ्गाका लागि बिहान ६:२० र रेसुङ्गाबाट काडमाडौंका लागि बिहान ७:२० बजेको तालिका रहेको छ ।

निगमले काठमाडौंबाट गुल्मीका लागि १० हजार ७१० र गुल्मीबाट काठमाडौंका लागि १० हजार ५१० हवाईभाडा निर्धारण गरेको छ ।

गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ ।  सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौं आवतजावत गर्न सहज भएको छ ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो ।

पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।  रासस