काठमाडौं । रामेछापका व्यावसायिक कृषकलाई आधुनिक कृषि प्रविधि, यन्त्र तथा उपकरणबारे जानकारी गराउने उद्देश्यले कृषि तथा पशुपन्छीविकास कार्यालय रामेछापले अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ मा सहभागी हुन इच्छुक कृषकसँग आवेदन माग गरेको छ।
बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयको कृषि तथा पशुपन्छी विकास कार्यालय रामेछापले सूचना जारी गर्दै जिल्लाका इच्छुक व्यावसायिक कृषकलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको हो। प्रदर्शनीमा सहभागी हुने कृषकको आवतजावत खर्च कार्यालयले व्यहोर्ने जनाएको छ।
‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा प्रदर्शनी आयोजना हुँदैछ। आधुनिक कृषि यन्त्र तथा उपकरणको प्रयोग बढाउने, नयाँ प्रविधिबारे जानकारी दिने र कृषकको कार्यक्षमता वृद्धि गर्ने उद्देश्यले जिल्लाका कृषकलाई सहभागी गराउन लागिएको कार्यालयले जनाएको छ।
कृषि कार्यालयको यस पहलले कृषि यान्त्रीकरण तथा आधुनिक प्रविधिको प्रयोग प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले बताए। कृषि क्षेत्रको रूपान्तरणका लागि आयोजना हुन लागेको प्रदर्शनीमा कृषि कार्यालय, स्थानीय तह र अन्य सरोकारवाला निकायले पनि रामेछापको जस्तै सक्रिय सहयोग गर्नुपर्ने उनको भनाइ छ।
शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अन्य जिल्लाका कृषि कार्यालय र पालिकालाई पनि प्रदर्शनीमा कृषकको सहभागिता सुनिश्चित गर्न आग्रह गरे।
असोज २६ गतेसम्म आवेदन दिन सकिने
प्रदर्शनीमा सहभागी हुन इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् असोज २६ गतेसम्म कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। कार्यालयबाट उपलब्ध गराइएको निवेदन फाराम भरेर बुझाउन वा [email protected] इमेलमार्फत आवेदन पठाउन सकिनेछ।
निवेदनमा कृषकको नाम, ठेगाना, सम्पर्क नम्बर, नागरिकता वा किसान परिचयपत्र नम्बर, खेती गरिरहेको बाली र क्षेत्रफल, कृषि फार्म वा समूहको नाम तथा कृषि व्यवसाय गरेको अवधिसम्बन्धी विवरण खुलाउनुपर्नेछ। यसैगरी, उपलब्ध संरचना, कृषि यन्त्र तथा उपकरणको विवरण, प्रदर्शनीमा सहभागी हुन चाहनुको कारण र अपेक्षासमेत उल्लेख गर्नुपर्ने कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार छनोट भएका कृषकलाई प्रदर्शनीको एक दिन अवलोकन गराइनेछ। सहभागीको सङ्ख्या सीमित हुने भएकाले कृषकको व्यावसायिकता र आवश्यकताका आधारमा छनोट गरिनेछ। छनोटका लागि आवश्यक मापदण्डसमेत कार्यालयले निर्धारण गर्न सक्ने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि कार्यालयका सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीलाई ९७६७७६३९७६ मा सम्पर्क गर्न सकिनेछ। कार्यालयको फोन नम्बर ०४८-५४०३०८ र ०४८-५४००६३ रहेको छ।
कृषि विभागअन्तर्गतको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहनेछ। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन्।