• Menu

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद, एक युवक पक्राउ

नेपाल प्रफिट

२०८३ असोज २६, सोमबार १६:४८

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद, एक युवक पक्राउ

उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा बोक्न प्रयोग गरिएका बोलेरो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ स्थित साँगुरी पुल नजिकैको जंगल र चौदण्डीगढी नगरपालिका-१ चारघरेबाट गाँजा बरामद गरेको ।

प्रहरी उपरीक्षक चापागाईंका अनुसार गए राति पनि कटारी नगरपालिका-६ स्थित साँगुरी पुलनजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ ।

तिनतलेबाट सिराहातर्फ उक्त गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका-२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, चौदण्डीगढी नगरपालिका-१, चारघरेस्थित रानीटार-बेल्टार भित्री सडकखण्डमा आज बिहान पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा राखिएको (४० केजी ४४) ग्राम गाँजा बरामद भएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।