गोरखा । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ ।
मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएको उनले बताए । ‘शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ,’ संरक्षण अधिकृत ओझाले भने, ‘हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।’
बाढीले मनास्लु जाने मुख्य पदमार्ग, झोलुंगे पुललगायतमा क्षति पुर्याएका कारण पर्यटकको आवातजावत रोकिएको हो । चुमनुब्री-६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पखाईमा रहेको उनले बताए । यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताए ।
विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
‘मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्यांक लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ,’ उनले भने, ‘मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ ।’ रासस