काठमाडौं । खाद्य सम्प्रभुता, जलवायु न्याय र किसानका अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी विश्व खाद्य दिवस २०८३ का कार्यक्रम सुरु भएका छन्। खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा आइतबारदेखि काठमाडौंमा विभिन्न सिर्जनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका हुन्।
‘आज नवीनता अपनाऔँ, भोलि पोषण सुनिश्चित गरौँ’ भन्ने नारासहित आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपद्ले कृषि, खाद्य प्रणाली, किसानको जीविकोपार्जन तथा समुदायमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ।
४६औँ विश्व खाद्य दिवसको अवसरमा आइतबार काठमाडौंको बबरमहलस्थित साप फाल्चामा कलामार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिएको छ। सोही अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत खाद्य सम्प्रभुता, जलवायु न्याय तथा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
कार्यक्रमअन्तर्गत सोमबार काठमाडौंको वसन्तपुरस्थित शिवपार्वती डबलीमा दिउँसो ४ बजे सडक नाटक प्रस्तुत गरिनेछ। नाटकमार्फत कृषि, खाद्य अधिकार, जलवायु परिवर्तन र किसानका सवाललाई सार्वजनिक बहसमा ल्याउने आयोजकको लक्ष्य छ।
त्यसैगरी, असोज २७ गते मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म हरिहरभवनस्थित कृषि विभागमा ‘खाना र खेतीपातीका यक्ष प्रश्नहरू’ शीर्षकमा बहस, नाटक, सिर्जनात्मक प्रस्तुति तथा पोस्टर र कला प्रदर्शनी आयोजना गरिनेछ।
विश्व खाद्य दिवसकै अवसरमा असोज २८ गते नेपाल कृषि पत्रकार समाज (अनाज) र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा बहस कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा कृषि तथा खाद्य प्रणालीका चुनौती, जलवायुजन्य विपद्ले किसानको जीविकोपार्जनमा पारेको प्रभाव, खाद्य सम्प्रभुता र जलवायु न्यायका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
यसैगरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ३० गते विश्व खाद्य दिवसको मुख्य कार्यक्रम आयोजना गर्नेछ। उक्त कार्यक्रममा खाद्यका लागि कृषि अभियानको समेत सहभागिता रहनेछ।
अभियानको संयोजकत्वमा सञ्चालन भइरहेका कार्यक्रमले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका समस्या, खाद्य प्रणालीमा परेको असर तथा किसानले भोग्नुपरेका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। साथै, किसानका अधिकार, खाद्य सम्प्रभुता र जलवायु न्यायका विषयलाई सार्वजनिक बहसमा स्थापित गर्न कार्यक्रमले सहयोग पुर्याउने आयोजकको विश्वास छ।
विश्व खाद्य दिवस हरेक वर्ष अक्टोबर १६ मा मनाइन्छ। भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने तथा सबैका लागि पर्याप्त, सुरक्षित र पोषणयुक्त खानाको पहुँच स्थापित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।