काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । ‘बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुंगे र पक्की पुल, विद्युतका खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्याएको छ,’ प्राधिकरणका प्रवक्ता शान्ति महतले भने, ‘धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ ।’
महतका अनुसार चुमनुब्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका-५ माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुलसमेत बगाएको उनले जानकारी दिए ।
‘सैगरी, आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ,’ उनले भने, ‘माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छ । बूढीगण्डकी जलविद्युत आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युतका खम्बामा क्षति पुगेको छ ।’
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन् । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । ‘सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ,’ उनले भने ।
‘बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको छ,’ उनले भने । रासस