काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा हालै आएका प्राकृतिक विपत्ति र ठूलो जनधनको क्षतिलाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। उनले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने निर्णयसमेत गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयले आज जारी गरेको सूचनाअनुसार गत भदौमा हिमपहिरोका कारण आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाले देशमा ठूलो संकट निम्त्याएको छ।
प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै सयौँको संख्यामा नागरिकको दुःखद निधन भएको र ठूलो मात्रामा जनधनको अपूरणीय क्षति भएको परिस्थितिप्रति पूर्वराजा शाहले दुःख व्यक्त गरेको सचिवालयले जनाएको छ।
देशले असहज परिस्थिति सामना गरिरहेको अवस्थामा पीडित नागरिकप्रति संवेदना व्यक्त गर्दै पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राखेर यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेको सूचनामा उल्लेख छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उनले यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने निर्णय गरेका हुन्।