कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।
आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभा बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गरेका हुन् । यो अघिल्लो सरकारले प्रस्तुत गरेको आकारअनुसार नै रहेको छ ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ ।
यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि उक्त बजेट पारित हुनसकेन । सोही असार २९ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
करिब दुई महिनासम्म प्रदेशमा बजेट शून्यताको अवस्थामा रहेकामा आजबाट त्यो अन्योल हटेको छ । आजको अर्को बैठक ३० मिनेटपछि बस्ने सभामुख भण्डारीले सभालाई जानकारी गराए । रासस