नुवाकोट । भोटेकोशी बाढीपछि आइतबार सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका-१० र उत्तरगया गाउँपालिका-५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने नेपाली सेनाको उपरथी अनुपजङ्ग थापाले बताए । उनका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल नेपाली सेनाले ५ दिनमा तयार गरेको हो ।
‘बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन,’ उपरथी थापाले भने, ‘सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार-बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई बाहिर जिल्लासँग जोडिएको हो ।’
पुल सञ्चालनमा आएसँगै उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई प्रदान गरे ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भार बहन क्षमताको रहेको छ । ७३.२ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ ।
बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यसामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।
गल्छी-रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहज बनेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत खोज तथा उद्धारसहित राहत एवं अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।
भोटेकोशी बाढीले क्षति पुर्याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्याएका बाँकी स्थानका पुलसहितको सडक सञ्जाल सञ्चालन गराउन नेपाली सेनामार्फत आवश्यक सहजिकरण भइरहेको उल्लेख छ । रासस