मुस्ताङ । राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले ६ ब्यारेल इन्धन (डिजेल) उपलब्ध गराएका छन् । यही असोज ११ देखि अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालनार्थ ईन्धन अभाव नहोस् भनेर इन्धन उपलब्ध गराएको हो ।
यसअघि बेनी-जोमसोम सडक पुनर्निर्माणका लागि आयोजनाबाट पर्याप्त मात्रामा इकुमेन्ट र जनशक्ति परिचालन गरिएको भए पनि सडक अवरुद्धले ईन्धनको व्यवस्थापन गर्न नसक्दा सडक मर्मतको काम प्रभावित भएको थियो । नेपाली सेनाको सहयोगमा म्याग्दीको कुनौटे सडकमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको थियो ।
यही असोज ८ देखिको भारी वर्षाले बेनी-जोमसोम-कोरला सडकमार्गको दर्जनौँ स्थान सडक क्षतविक्षेत भएको छ । जसका कारण बेनी-जोमसोम सडक पछिल्लो दश दिनदेखि सडक अवरुद्ध छ । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङमा नराम्रो असर परेको छ । राष्ट्रिय गौरवको सडक मुस्ताङसँगको सडक कनेक्टिभिटी टुटेसँगै मुस्ताङम पर्यटन र कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको छ ।
बेनी-जोमसोम सडकको सीधा यातायात सम्पर्कविच्छेद भएसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तु तथा इन्धनको समस्या परेको छ । सडक अवरुद्धका कारण प्रभावित बनेको मुस्ताङको जनजीवन सहज बनाउन तथा सडक मर्मतलाई गति प्रदान गर्न मुस्ताङको घरपझोङ २२० लिटर (एक ब्यारेल), वारागुङ मुक्तिक्षेत्रले ६६० लिटर (तीन ब्यारेल) र लोघेकर दामोदरकुण्डले २२० लिटर (एक ब्यारेल इन्धन) (डिजेल) मुस्ताङबाट ढुवानी गरी सहयोग पुर्याएका छन् ।
वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङ, घरपझोङका अध्यक्ष मोहनसिंह लालचन र लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टलगायतले मुस्ताङबाट इन्धन ढुवानी गरी आयोजनालाई हस्तान्तरण गरेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । योसँगै बेनी-जोमसोम सडक मर्मतका लागि सडक उपकरण चलाउन इन्धनको समस्या टरेको उनको भनाइ छ ।
अवरुद्ध बेनी-जोमसोम सडकको अधिकांश स्थानमा सडक मर्मत भई सञ्चालनमा आइसकेको भए पनि म्याग्दीको पोखरेबगरमा कालीगण्डकी नदीको पुल एप्रोज सडक र कुनौटो सडकको सडक मर्मत तीव्र पारिएको छ । आयोजना प्रमुख शर्माले बेनी-जोमसोम अवरुद्ध सडक छिट्टै सञ्चालनमा ल्याउने बताए ।
भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक ध्वस्त हुँदा मुस्ताङ पूर्ण रूपमा प्रभावित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उल्लेख गर्नुभयो । सडक अवरुद्धले दसैँ-तिहारअघिको छेकोमा हुने पर्यटन व्यवसाय र स्याउको बजारीकरणमा समस्या परेको उनले बताए ।
कोरलानाकाको निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङमा सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको लोघेरक दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
बेनी-जोमसोम-कोरला सडक गण्डकी प्रदेश र मुस्ताङ जिल्लाकै आर्थिक समृद्धिको मेरुदण्ड भएकाले यो सडकलाई यथाशीघ्र मर्मत गरी सडक सञ्चालन गराउन सबै पक्षको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको बताए । रासस