झापा । जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ ।
कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोडसम्बन्धी सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउन थालेको हो ।
राष्ट्रिय परिचयपत्र र राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा पनि भौतिक उपस्थितिबिनै उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
कार्यालयका अनुसार सेवाग्राहीले सम्बन्धित सेवाका लागि तोकिएको अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनलगायतका माध्यमबाट सेवा लिन सक्नेछन् । त्यसका लागि कार्यालयले सेवाको एकीकृत व्यवस्थापन गर्न छुट्टै ‘हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याएको छ ।
धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव तथा मेला सञ्चालनको अनुमति र शान्ति सुरक्षासम्बन्धी सेवा तथा राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी जानकारी, अनुमति र शान्ति सुरक्षाका लागि कार्यालयको वेबसाइटमा राखिएको अनलाइन लिङ्क प्रयोग गर्न सकिनेछ ।
त्यस्तै, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था र राहदानीको अवस्था बुझ्न डेडिकेटेड ह्वाट्सएप नम्बर तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी जानकारीका लागि डेडिकेटेड इमेल प्रयोग गर्न सकिनेछ ।
सेवाग्राहीले निवेदन दिँदा आफ्नो इमेल वा ह्वाट्सएप नम्बर उल्लेख गर्नुपर्नेछ । माग गरिएको सेवासँग सम्बन्धित जानकारी तथा आवश्यक जवाफ सोही इमेल वा ह्वाट्सएपमार्फत उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवा प्रदायकबीचको दूरी घटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘फेसलेस’ सेवा सुरु गरिएको बताए ।
उनले भने, ‘सरकारले सुशासन अभिवृद्धिका लागि डिजिटलमैत्री शासन प्रणालीलाई प्राथमिकता दिएको छ । त्यसैअनुसार सेवाग्राहीलाई सामान्य कामका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी भर्चुअल माध्यमबाट सेवा र सेवाग्राहीबीच प्रत्यक्ष कनेक्सन गराउने प्रयास गरेका छौँ ।’
उनका अनुसार फेसलेस सेवाले सेवाग्राहीको समय र खर्च बचत मात्र नभई कार्यालयमा हुने अनावश्यक भिडभाड घटाउन सहयोग पुग्नेछ । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘सेवा लिन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता कम हुँदा सेवाग्राहीको समय बचत हुन्छ र कार्यालयको सेवा प्रवाह पनि व्यवस्थित हुन्छ ।’
सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न सम्बन्धित फाँटका कर्मचारीलाई अभिमुखीकरणसमेत गरिसकिएको छ । नयाँ प्रणालीलाई दिगो र प्रभावकारी बनाउन आवश्यकताअनुसार सेवाको स्तरोन्नति गर्दै लैजाने कार्यालयको भनाइ छ ।
कार्यालयले प्रविधिमा आधारित सेवाको विस्तारसँगै सेवाग्राहीलाई सहज पहुँच, पारदर्शिता र छिटो सेवा उपलब्ध गराउने जनाएको छ ।