म्याग्दी । मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला अन्तर्गत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ ।
पर्वतको कुश्मा नगरपालिका-१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।
बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए ।
‘वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग-तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ,’ उनले भने, ‘मालढुंगातर्फबाट बेनी बैसरी हुँदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।’
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।
राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।
‘कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ,’ आयोजना प्रमुख शर्माले भने, ‘छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।’
अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् ।
सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।
‘सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,’ उनले भने, ‘यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’ रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।
मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी-जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।