काठमाडौं । मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथी बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा ल्याइएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत दैनिक जीवनमा आवश्यक सेवाहरूलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले डेली सेवा प्रालिले ‘डेली सेवा’ मार्केट–प्लेस सञ्चालनमा ल्याएको हो ।
डेली सेवाले नेपालको आफ्नै स्मार्ट बजारका रूपमा आफूलाई विकास गरेको जनाएको छ । यस प्लेटफर्ममार्फत घरायसी एवं व्यावसायिक प्रकृतिका विभिन्न सेवाहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
कुनै पनि दक्ष नेपाली नागरिक डेली सेवा मोबाइल एप वा वेबसाइटमार्फत जोडिएर सेवाग्राहीको प्रतीक्षा गर्न सक्छन् भने कुनै पनि मानिसले कुनै पनि ठाउँबाट आफूलाई चाहिएको सेवा लिन सक्छन् । त्यसका लागि आफ्नो व्यवसायको विवरण भरेर डेली सेवामा जोडिनुपर्ने हुन्छ ।
डेली सेवाको वेबसाइट र मोबाइल एप नेपाली बजारको आवश्यकता र सेवा क्षेत्रको वास्तविक अवस्थालाई ध्यानमा राखेर नेपालमै विकास गरिएको छ । प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवाप्रदायकबीच छिटो, सहज र व्यवस्थित सम्बन्ध स्थापित गर्ने उद्देश्य कम्पनीले लिएको छ ।
डेली सेवामार्फत घर निर्माण तथा मर्मत, विद्युतीय उपकरण सेवा, सीप तथा तालिम, विशेषज्ञ सेवा, ग्याजेट तथा टेक्निकल सपोर्ट, अन-कल सेवा, लजिस्टिक्स तथा ढुवानी, किचन तथा क्लिनिङ सेवालगायत विभिन्न क्षेत्रका सेवा उपलब्ध हुनेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश न्यौपानेले एउटै डिजिटल प्लेटफर्मबाट दैनिक जीवन, घर, व्यवसाय र विशेषज्ञ आवश्यकताका सेवाहरू जोड्ने मार्केट प्लेसका रुपमा डेली सेवालाई विकास गरिएको बताए । ‘कुनै पनि व्यक्तिले आफूलाई आवश्यक परेको सेवा घरै बसी–बसी लिन सक्ने भएकाले समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ,’ उनले भने, ‘डेली सेवा एपमा हाल १० विधाका १०० भन्दा बढी सेवा उपलब्ध गराइएका छन् ।’
डेली सेवाले सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउनुका साथै विभिन्न सीप विकासका क्षेत्रहरुमार्फत दक्ष, अर्धदक्ष तथा अदक्ष सबै किसिमका जनशक्तिलाई रोजगारी तथा व्यवसाय विस्तारको अवसर प्रदान गर्ने लक्ष्य पनि राखेको सीईओ न्यौपानेले बताए । प्लेटफर्ममा आबद्ध हुने सेवाप्रदायकलाई डिजिटल माध्यमबाट सेवा प्रवर्धन गर्ने तथा थप सेवाग्राहीसम्म पुग्ने अवसर उपलब्ध हुने विश्वास उनको छ ।
कम्पनीले सेवाप्रदायकको छनोट तथा व्यवस्थापनमा विश्वास, गुणस्तर र व्यावसायिकतालाई प्राथमिकता दिएको छ । जसअनुसार सेवा प्राप्त गरेपछि मूल्यांकन गर्न सक्ने प्रणालीसमेत विकास गरिएको छ ।
नेपालमा डिजिटल अर्थतन्त्र र प्रविधिमा आधारित व्यवसायको विस्तारसँगै अनलाइनमार्फत सेवा खोज्ने प्रवृत्ति बढिरहेको छ । यही परिवर्तित प्रवृत्तिलाई लक्षित गर्दै डेली सेवाले नेपाली प्रविधि र जनशक्तिमा आधारित सेवा सुरु गरेको हो ।
अहिले यो सेवा काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ । ‘नेपालकै आफ्नै डिजिटल मार्केट प्लेस’ भन्ने अवधारणासहित अघि बढेको डेली सेवाले भविष्यमा देशभर सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
डेली सेवाको विस्तृत जानकारी तथा सेवाहरूका लागि www.dailysewa.com वा प्लेस्टोर वा एपस्टोरमा Daily Sewa सर्च गरी एप डाउनलोड गरेर हेर्न सकिनेछ ।