• Menu

सिंहदरबार वैद्यखानाको आयुर्वेदिक औषधि उत्पादन बढाउन र जडीबुटी उपयोगका लागि कार्यदल गठन हुने

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १७:२४

सिंहदरबार वैद्यखानाको आयुर्वेदिक औषधि उत्पादन बढाउन र जडीबुटी उपयोगका लागि कार्यदल गठन हुने

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या बढाउन तथा आवश्यक जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्यदल गठन गरिने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो।

स्वास्थ्य सल्लाहकार अग्रवालले समितिको विकासका लागि तत्काल कार्यदल गठन गरी तीन महिनाभित्र कार्यान्वयनयोग्य विकास खाका तयार गर्नुपर्ने बताए । उनले मुलुकमा उपलब्ध जडीबुटीको अधिकतम उपयोग गर्दै वैद्यखानाबाट उत्पादन हुने औषधिको संख्या बढाउन र आगामी दिनमा विदेशमा समेत निर्यात गर्न सक्ने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले औषधिको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी संकलनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले जडीबुटीको उत्पादनदेखि संकलन र उपभोगसम्म स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गरे ।

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले आयुर्वेदिक औषधिका लागि आवश्यक कच्चा पदार्थको संकलन र उपयोगमा मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने बताए । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले जडीबुटी संकलनका लागि सरोकारवाला निकायबीच समन्वय र कानुनी स्पष्टता आवश्यक रहेको बताए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जडीबुटी उत्पादन बढाउन किसानसँग सहकार्य गरी व्यावसायिक खेतीतर्फ जानुपर्नेमा जोड दिए । उनले जडीबुटी उत्पादन तथा प्रशोधन गर्ने कम्पनीसँग पनि सहकार्य बढाउनुपर्ने बताए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी निमित्त महाप्रबन्धक उषा रिजाल जोशीले आयुर्वेदिक औषधि उत्पादनमा कच्चा पदार्थ मुख्य समस्या रहेको बताए । जडीबुटीको ठूलो परिमाणमा उत्पादन गर्न सके मात्र कम्पनीको विकास सम्भव हुने उल्लेख गर्दै उनले कच्चा पदार्थको मूल्य समर्थन निर्धारण गर्नुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा रहेका जडीबुटीको संकलन तथा उपयोगका लागि विद्यमान कानुनमा सुधार आवश्यक रहेको बताए ।

वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राईले जडीबुटीको उत्पादन बढाउन सार्वजनिक खरिद ऐनलगायत केही कानुन परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलका क्रममा वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले सिंहदरबार वैद्यखाना विकास समितिको वर्तमान अवस्था र समस्याबारे प्रस्तुति दिँदै समाधानका लागि आवश्यक सुझावसमेत प्रस्तुत गरेका थिए ।