• Menu

सीपलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्छ : सभामुख अर्याल

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १३:१७

सीपलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबारदेखि कोशी प्रदेशबाट सुरु गरेको ‘श्रमाधान सीप तथा रोजगार मेला, २०८३’ को उद्घाटन गर्दै उनले सीप अतिरिक्त योग्यता मात्र नभई व्यक्ति, समाज र राष्ट्रको समृद्धिको आधार भएको बताए ।

सभामुख अर्यालले संविधानले रोजगारी तथा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले त्यसलाई व्यवहारमै अनुभूति हुने गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको कुल जनसंख्याको ६६ प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै उनले यसलाई जनसांख्यिक लाभांशका रूपमा उपयोग गर्नुपर्ने बताए । बजारको मागअनुसारको सीप, सीपअनुसारको रोजगारी र रोजगारीसँग जोडिएको उत्पादनलाई श्रम तथा रोजगार नीतिको महत्वपूर्ण दिशा बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले आफू श्रम मन्त्रालयको नेतृत्वमा रहँदा २०८१ जेठ १७ गते कोशी प्रदेशबाट सुरु गरिएको ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा सञ्चालन भएको स्मरण गरे । उक्त मेलामा ४१ हजार ३२५ जनाले अवलोकन गरेको, १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएको तथा रोजगारदाताले १४ हजार ७८८ रोजगारीका लागि माग गरेको उनले जानकारी दिए ।

स्वदेशमा रोजगारी खोज्ने युवा र जनशक्ति अभावमा विदेशी कामदार ल्याउनुपर्ने अवस्थाबीचको असन्तुलन अन्त्य गर्न सीप विकास र श्रम बजारबीच तालमेल आवश्यक रहेको उनले बताए । ‘श्रमाधान कल सेन्टर’ लगायतका पहललाई थप प्रभावकारी बनाउँदै आन्तरिक रोजगारी विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सात दिन सञ्चालन हुने मेला असोज २० गतेसम्म चल्नेछ । मेलामा उद्यमशीलता, डिजिटल बजार प्रवर्धन, आतिथ्य सत्कार, सौन्दर्यकला, खाना पकाउने तथा सेवक, विद्युतीय सवारी तथा वातानुकूलन मर्मत र कफी बनाउनेलगायत १० विषयमा निःशुल्क छोटो अवधिका व्यावहारिक तालिम सञ्चालन गरिनेछ ।

मेलामा ६५ वटा प्रदर्शनी कक्षमार्फत रोजगारदाता, तालिम प्रदायक संस्था तथा बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष सहभागिता रहनेछ ।