• Menu

राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुहोस् : प्रधानमन्त्री

नेपाल प्रफिट

२०८३ असोज १४, बुधबार १६:०२

राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरे ।

प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।’

उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए । प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गरे ।

छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘एक्स्ट्राअर्डिनरी’ मानिस भएको उल्लेख गर्दै ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले कहिल्यै पनि घटना र व्यक्तिप्रधान कुरा नगर्ने बताए । ‘एक्स्ट्राअर्डिनरी’ व्यक्तिले सदैव नयाँ ‘आइडिया’मा कुरा गर्ने र त्यसैमा काम गर्ने भएकाले पाँच वर्षमा मुलुक बन्ने धारणा राखे ।

सो छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरु तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा,  अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो ।