काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।
महासभाको बैठकमा भाग लिई स्वदेश फर्केका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन अहोरात्र खटिएको बताए । उनले राष्ट्रसंघीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्वसमुदाय सकारात्मक रहेको उल्लेख गरे ।
परराष्ट्रमन्त्री खनालले भने, ‘संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको क्रममा प्रधानमन्त्री वालेन्द्र शाहज्यूले महासभामा गरेको सम्बोधन तथा मैले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा गरेको सहभागिता र छलफलबाट एकातर्फ नेपालको कूटनीतिक छवि उच्च भएको छ । नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक देखिनु देशका लागि खुसीको विषय हो ।’
मन्त्री खनालले महासभामा सहभागी हुनेक्रममा ३३ भन्दा बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तय भएको उनले बताए ।
परराष्ट्रमन्त्री खनालले यसपटकको महासभामा नेपालको तर्फबाट जलवायु न्यायसहितका मुद्दाहरू विश्वसामु बलियोसँग उठाएको जानकारी दिए । उनले भोटेकोशीको विनासकारी बाढी तथा अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय मुद्दामा महासभाका क्रममा आफ्नो धारणा स्पष्ट र दरिलो रूपमा राखेको भनी चर्चा एवं प्रशंसा हुनु नेपालका लागि गौरवको विषय हो भने ।
उनले प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा जलवायु परिवर्तन तथा यसले नेपाल र नेपालजस्ता प्रभावित मुलुकहरूलाई पारेको असरका बारेमा स्पष्टसँग भनाइ राखेको बताए ।
मन्त्री खनालले भने, ‘प्रधानमन्त्रीज्यूले महासभामा सम्बोधन गर्नुभन्दा अघि पनि देशभित्र र बाहिर उत्तिकै चासो थियो । उनको सम्बोधनपछि पनि त्यसप्रति विश्वको चासो रहेको स्पष्ट देखियो । राष्ट्रसंघीय महासभामा यसपटकको सम्बोधनहरूमध्ये अहिले सबैभन्दा बढी हेरिनेमा यो परेको छ ।’
मन्त्री खनालले नेपालको अवस्था र जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा र आफूले अन्य विभिन्न फोरमहरू तथा भेटवार्तामा स्पष्टसँग धारणा राखेको बताए । उनले भने, ‘हामीले महासभामा सहभागिताका क्रममा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेर फर्केका छौँ ।’