काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले भोटेकोशी बाढी पीडितलाई ५० लाख रुपैयाँबराबर सहयोग गरेको छ । एसोसिएसनका महासचिव निर्मल भट्टराईका अनुसार भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको क्षतिमा राहत तथा पुनर्निर्माणका लागि जुत्ता उद्योगीले करिब १५ हजार जोर जुत्तासहित ५० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका हुन् ।
एसोसिएसनले सदस्य उद्योगहरूलाई बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोग गर्न आह्वान गरेको थियो । जसअनुसार ‘नगद र जिन्सी’ सामान उपलब्ध गराइएको उपमहासचिव सुदीप बरालले जानकारी दिए ।
उद्योगीहरुले हालसम्म करिब १५ हजार जोर जुत्ता-चप्पल सहयोग गरिसकेका छन् । ‘सरकारी संयन्त्रबाट कुन ठाउँमा कति जोरसम्म जुत्ता-चप्पल आवश्यक छ भन्ने विवरण उपलब्ध भएमा सोही अनुसार सामग्री प्रदान गर्न संघ तयार छ,’ उपमहासचिव बरालले भने, ‘अझै १५ हजार जोर जुत्ताचप्पल सहयोग गर्ने हाम्रो योजना छ ।’