काठमाडौं । ‘केपी बा ! घण्टी बजाउनुपर्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष प्रवेशका अवसरमा आयोजित चियापान कार्यक्रममा सभापति रवि लामिछानेले घण्टी बजाएपछि छेउमै रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पार्टी सदस्य र शुभचिन्तकले घण्टी बजाउन आग्रह गरे ।
तर, उनले वास्तै गरेनन् । घण्टी नजिकैबाट हिँडे तर कुनै प्रतिक्रियासम्म दिएनन् । सँगै रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घण्टी बजाए पनि पार्टी सदस्य र शुभचिन्तकलाई चित्त बुझेन ।
उनीहरु भन्दै थिए- पोहोर त बजाउनुभएको थियो, आज किन बनाउनुभएन ?
ओलीलाई सभापति लामिछानेले स्टल भएतिर लगे । पहिलो स्टलमा गाँजा र भाँङबाट बनेका जुत्ताचप्पलसँगै तान राखिएको थियो । तानले एमाले अध्यक्ष ओलीको ध्यान खिच्यो । ‘म तानमा बस्छु’ भने र बसी पनि हाले ।
मानिसहरुको उल्लेख्य सहभागिताका बीच बयोवृद्ध नेता ओलीको तानमा बसेर खुट्टाले तान चलाउँदै कपडा बुन्ने प्रयास गर्दै थिए । रास्वपा सभापति लामिछाने र एमाले उपाध्यक्ष पौडेलका लागि मात्र होइन, रास्वपा सदस्य र शुभचिन्तकका लागि उनका गतिविधि चित्ताकर्षक बनिरहेको प्रतित हुन्थ्यो ।
नजिकमा रहेकी तान अपरेटर महिलालाई सोध्दै उनी कपडा बुन्ने प्रयास गरिरहेका थिए । मानिसहरुको भीड र होहल्लाका बीच पनि उनले तान चलाएको आवाज अलि परसम्म सुनिएको थियो ।
डेढ मिनेटसम्म तानमा बसेर कपडा बुन्ने प्रयास गरिरहेका ओलीलाई भीडमा रहेका एक युवाले व्यंग्यात्मक शैलीमा भने, ‘अब ८४ पछि यही सिलाएर बस्नुपर्छ बा !’
हाँसोको पर्रा छुट्यो ।
‘कसले भनेको ?’ तानमा गम्भीरतासाथ कपडा बुन्ने प्रयासमा रहेका ओलीले मुन्टो उठाएर सोधे ।
केही मानिसहरुले ती युवालाई देखाइदिए । मानिसहरुको फरक प्रतिक्रियाको अपेक्षा गरिरहेको आभाषका बीच ओलीले भने, ‘यो कुरा सम्झिराख्नु । हो, सम्झिराख्नु ।’
ती युवाले पनि ‘हवस’ भने । मानिसहरु हाँसिरहे ।
त्यसपछि ओली फेरि तानमा कपडा बुन्ने प्रयासमा जुटे । अर्को ३० सेकेन्ड प्रयास गरेपछि उनी उठे ।
२०७९ साल असार ७ गते पार्टी घोषणा भएको अवसरमा रास्वपाले आज शुक्रबार सिद्धार्थ वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दोस्रो स्थापना दिवस मनाएको छ । कार्यक्रमस्थलमा रास्वपाले स्थानीय उत्पादनका केही स्टल पनि राखेको थियो ।
‘हाम्रा सम्भावनालाई चिनौं, नेपाली उत्पादनलाई प्रवर्धन गरौं’ भन्ने नारासहित राखिएका स्टलमा गाँजा, केरा, बाँस, सिस्नु, अम्रिसो, लोक्ता, च्याउ, टुथ पिकलगायत सामग्री प्रदर्शनीमा थिए ।
अध्यक्ष ओलीले सबै उत्पादकसँग कुरा गर्दै रुचिपूर्वक सबै स्टलको अवलोकन भ्रमण गरे । रास्वपाको निम्तो स्वीकारेर कार्यक्रम स्थलमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का पूर्वअध्यक्ष शेखर गोल्छालगायतका उद्योगी व्यवसायीले पनि स्टलहरुको अवलोकन भ्रमण गरे ।


दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पनि निम्ता मान्न पुगेका थिए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, भट्टराई पत्नी हिसिला यमी, सभामुख देवराज घिमिरे, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रास्वपालाई बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रममा दुई हजारभन्दा बढी सहभागी भएको रास्वपाले जनाएको छ ।
भिडियो हेर्न लिंक क्लिक गर्नुहोला ।
https://www.facebook.com/share/v/EaQXzDwrdqigJUPo/
भिडियो : अनिल ढुंगेल