• Menu

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने ठोस प्रस्ताव तत्काल ल्याउन प्रधानमन्त्रीको ताकेता

नेपाल प्रफिट

२०८१ असार ७, शुक्रबार १९:०३

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने ठोस प्रस्ताव तत्काल ल्याउन प्रधानमन्त्रीको ताकेता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे गम्भीर छलफल गरका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो भएको छलफलमा प्रधानमन्त्रीले दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन् । यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी भइसकेको छ । निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ । यस्तो परिस्थितिमा यी विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुको कुनै विकल्प छैन,’ उनले भने, ‘पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिट्टै ल्याउनुहोस् ।’

छलफलमा प्रधानमन्त्रीले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिए । ‘काठमाडौँ एयरपोर्टमा एयर ट्राफिकको समस्या छ । यसको उचित समाधान दिनुपर्ने हुन्छ । अर्कोतर्फ काठमाडौँ एयरपोर्टको सुधार र क्षमता विस्तारको काम पनि हुँदैछ । यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा जाने नेपाली यात्रु र अन्य यात्रुलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्ने प्रधानमन्त्रीले बताए । ‘त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमनलगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ, भिसा सेन्टरका लागि कूटनीतिक पहल गर्नुपर्छ,’ उनले भने ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने उनले बताए । ‘हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ र हवाई इन्धनमा केही सहुलियत दिऊँ,’ उनले भने, ‘निजी क्षेत्रसँग पनि समन्वय गरेर होटललगायतमा सहुलियत प्याकेजका निम्ति अनुरोध गरौँ । सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक कूटनीतिक पहल गरिन्छ ।’

पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक गृहकार्य गर्ने उनले स्पष्ट निर्देशन दिए । ‘अरू मन्त्रालय र निकायसँग पनि समन्वय गर्नुस्, अनि छिटै हामी एउटा निष्कर्षमा पुग्छौँ,’ प्रधानमन्त्रीले भने ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नेसम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए ।

पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताए । उनले दुबै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयको तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा मन्त्री तामाङ, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए ।