काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्व गरिरहेको ग्लोबल आइएमई बैंकले विश्वका उत्कृष्ट १ हजार बैंकमा पर्ने लक्ष्य तय गरेको छ । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट १ हजार बैंकमा समावेश गर्ने लक्ष्य लिएका हुन्
व्यवसायको गुणात्मक वृद्धिका लागि ‘लक्ष्य २०२५’ अनुशरण गरी कार्यसम्पादन गर्दै आएको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्ममै व्यवसायसमेत दोब्बर बनाउने लक्ष्य लिएको छ ।
सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरु गरेको ग्लोबल आइएमई बैंक आफ्नो बैंकिङ यात्रामा २१ वटा बैंक वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको अध्यक्ष ढकाल बताउँछन् ।
सम्पूर्ण नेपालीमाझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखेर ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित २०६३ सालमा स्थापना भएको बैंक हो, ग्लोबल आइएमई बैंक । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक हो भन्ने कुरालाई बैंकका वित्तीय सूचकांकहरुको माध्यमबाट पुष्टि भइसकेको छ ।
बैंकले देशमा रहने नागरिकका लागि मात्र होइन, विश्वभरि रहेका नेपाली नागरिकलाई बैंकिङ सेवा दिने प्रयास स्वरुप विश्वका विभिन्न मुलुकमा प्रतिनिधि कार्यालय राखी सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसात् गरी नेपाली नागरिक रहेका स्थानबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले बैंकको ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ ।
विश्वभरका बैंकहरुमध्ये उत्कृष्ट १ हजारमा पर्ने लक्ष्य लिएको ग्लोबल आइएमई बैंक केही वर्षयता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुँदै आएको छ ।
ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक बन्न सफल भएको हो ।
ग्लोबल फाइनान्स म्यागजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारेबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुसँगै ग्लोबल आइएमई पनि सम्मानित भएको हो ।
ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बंगलादेशको स्ट्यान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रो बैंकलगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।
युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति छन् ।
अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।
‘बेस्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्ड
ग्लोबल आइएमई बैंक लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन ‘इन्टरनेसनल फाइनान्स म्यागजिन’द्वारा ‘बेस्ट इन्टरनेट बैंक २०१६– नेपाल’ अवार्डबाट सम्मानित भएको हो । सिगांपुरमा आयोजित विशेष कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।
बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानित गरिएको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालको पहिलो बैंक हो ।
रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘ए’ रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई आईसीआरएएनपी– आईआर ‘ए’ प्रदान गरेको छ । यस रेटिङले बैंकको वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।
बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यका आधारमा रेटिङको स्तर वृद्धि गरिएको हो ।
सबैभन्दा बढी कर दाखिला गर्ने वित्तीय संस्था
बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा बढी आयकर दाखिला गर्ने वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो ।
ग्लोबल आइएमई बैंक विभिन्न सूचकमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । बैंकले लघु, साना तथा मझौला व्यवसायमा आमनागरिकलाई आकर्षित गर्न न्यूनतम् ब्याजदरमा कर्जा सुनिश्चितताका लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिई लैंगिक तथा जलवायु फाइनान्सिङका क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ ।
२० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै साढे ४६ लाखभन्दा धेरै ग्राहक रहेको बैंकमा चैतसम्ममा ४ खर्ब ५९ अर्ब ७७ करोड निक्षेप संकलन भइसकेको छ । त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ३ खर्ब ८० अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैतसम्ममा बैंकको कुल सम्पत्ति ५ खर्ब ४६ अर्ब २६ करोड रुपैयाँभन्दा बढी छ भने चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ । निक्षेप संकलन, कर्जा प्रवाह, कुल सम्पत्ति र चुक्ता पुँजीको यो परिमाण सबै वाणिज्य बैंकहरुको भन्दा अधिक हो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal