काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनाका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
संघले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूसहित अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् ।
चीनको सिजाङ (तिब्बत)तर्फबाट भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन तथा पूर्वी नवलपरासीलगायत जिल्लाका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको संघले जनाएको छ। बाढीबाट ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै धेरै घाइते भएका र घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा क्षति पुगेको संघको भनाइ छ ।
संघले प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारबाट शीघ्र कदम चाल्नुपर्ने जनाएको छ। साथै, दीर्घकालीन रूपमा प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पूर्वाधार निर्माणमा विशेष सावधानी अपनाउनुपर्नेमा संघले जोड दिएको छ ।
राष्ट्रिय एकता, सामाजिक सहकार्य तथा मानवीय भावनाअनुरूप सहयोग गरिएको जनाउँदै संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
संघले प्रभावित नागरिक तथा क्षेत्रको पुनर्स्थापना र पूर्वाधार निर्माणलाई गति दिन सरकारसहित सबै सम्बन्धित पक्षको संवेदनशीलता, सक्रिय पहल र सहकार्य आवश्यक रहेको जनाएको छ ।