• Menu

एभरेस्ट बैंकद्वारा ‘प्रधानमन्त्री उद्धार कोष’ मा ३ करोड ११ लाखभन्दा बढी सहयोग

नेपाल प्रफिट

२०८३ भदौ १७, बुधबार १६:२५

एभरेस्ट बैंकद्वारा ‘प्रधानमन्त्री उद्धार कोष’ मा ३ करोड ११ लाखभन्दा बढी सहयोग

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ तथा बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको जनाएको छ।

आर्थिक सहयोगसँगै एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत विपद् प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई प्रत्यक्ष हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले भोटेकोशी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघ-संस्था तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ।