• Menu

राज्य करदाताको अभिभावक पनि हो, ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण र सहकार्य गर्नुपर्छ : अर्थमन्त्री

नेपाल प्रफिट

२०८१ असार ६, १९:०१

राज्य करदाताको अभिभावक पनि हो, ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण र सहकार्य गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाउने उद्देश्यले कर र राजस्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।

‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौं,’ उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’

मन्त्री पुनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानुनले मिलेसम्म सम्बोधन गर्न पनि उनले निर्देशन दिए । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट गरे । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्नेमा सचेत गराए ।

‘कडाइ गर्नुपर्ने ठाउँमा कडाइ र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ,’ उनले भने, ‘राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।’

लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुन पनि उनले निर्देशन दिए । ‘असल तवरले लगानी गरेर नाफा कमाउनुस् । राज्यले त्यसका लागि सहजीकरण गर्छ । तर, जसरी हुन्छ मुनाफा आर्जन गर्नुपर्छ भन्ने प्रवृत्तिलाई पनि निरुत्साहित गरिन्छ,’ मन्त्री पुनले भने ।

उनले राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गरे । उनले आफूले अमुक व्यावसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै संकेतसम्म नगरेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गरे ।

तर, सेवाप्रवाहमा ढिलासुस्ती र अनावश्यक हैरानी दिने काम भए स्वीकार्य नहुने स्पष्ट पारे । सेवा प्रवाह पारदर्शी, वैज्ञानिक र छिटोछरितो बनाउन मन्त्री पुनको निर्देशन छ ।

‘तपाईंहरु सबैलाई म भन्न चाहन्छु कि सेवाग्राहीका काममा ढिलासुस्ती नगरौं,’ उनले भने, ‘आफू पनि सेवाग्राही भएर एकपटक सोच्नुस् कि सेवाप्रवाहमा ढिला हुँदा कस्तो महसुस गर्नुहुन्छ ।’

फरक प्रसंगमा उनले चालु आर्थिक वर्षको बजेटमा स्रोतको अनुमान वस्तुवादी नभएकाले राजस्व संकलनको लक्ष्य भेटाउन कठिन रहेको औंल्याए । बजेटमार्फत निर्धारण गरिएका राजस्वसहित अन्य स्रोतहरुको अनुमान नमिल्दा आममानिसमा बजेटप्रतिको विश्वसनीयता नरहने अवस्था आएकाले यसपटक सच्याउन खोजिएको उनको भनाइ छ ।

‘विगतदेखि नै हाम्रो बजेट र स्रोतको अनुमान मिल्ने गरेको छैन । त्यसले बजेट निर्माणमै गम्भीर प्रश्न उठेको थियो,’ उनले भने, ‘यसपटक हामीले मानिसहरुले पत्याउने गरी यथार्थपरक रुपमा बजेट र स्रोतको लक्ष्य निर्धारण गरेका छौं । बजेटको आकार र राजस्व संकलनको लक्ष्य वस्तुगत रुपले नजिक ल्याएका छौं ।’

मन्त्री पुनले चालु आर्थिक वर्षमा सरकार आफैंले निर्धारण गरेका लक्ष्यको एक चौथाइ स्रोत पनि जुटाउन नसक्नु गम्भीर विषय भएकाले यसपटक सच्याउने प्रयास गरिएको स्पष्ट गरे । ‘अरुलाई ढाँट्न सकिन्छ । आफैंलाई ढाँट्न सकिँदैन । आर्थिक वर्ष सकिनै लाग्दा हामीमाथि सबैले प्रश्न गर्छन् । जवाफ दिन हामीले आफूलाई तयार राख्नैपर्छ,’ उनले भने ।

त्यस क्रममा अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव डा. रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा बक्यौता असुलीलाई तीव्रता दिन निर्देशन दिए । उनीहरुले चालु आर्थिक वर्षको राजस्व संकलनको अन्तिम लक्ष्य भेट्न अधिकतम प्रयास गर्नुपर्ने बताए ।

गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको अवस्थामा राजस्व संकलन सन्तोषजनक हुन नसक्नुको कारणबारे समीक्षा हुने सचिवद्वयको भनाइ छ ।  त्यस्तै आन्तरिक राजस्व विभागका प्रमुख शिवलाल तिवारी र भन्सार विभाग प्रमुख ढुण्डीप्रसाद निरौलाले राजस्व संकलनको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति राखेका थिए ।

छलफलमा मन्त्रालयका विभागीय प्रमुखहरु दुवै विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरु, काठमाडौँस्थित कार्यालय प्रमुखहरु तथा कर र राजस्व प्रशासनका अधिकृतहरु उपस्थित थिए । उपत्यकाबाहिरका कार्यालय प्रमुखहरु भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।