काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। साथै, बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।
अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएका छन्। सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा समेत बाढीले ठूलो असर पुर्याएको छ।
कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिने उद्देश्यले सहयोग प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ।
बैंकले विपद्का बेला प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधनसँगै पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग जारी राख्ने जनाएको छ।