काठमाडौँ । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा किर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ ।
वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुसी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै प्रहरीले त्यसतर्फ सचेत हुन अनुरोध गरेको हो ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको छ ।
हालै ब्लुबुक किर्ते गरेर गाडी बेचेको आरोपमा चार जनालाई पक्राउ गरेर कारबाही थालिएकाले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले बताए ।
अभियुक्तहरूले सवारीधनी एभरेस्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा २० च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा किर्ते गरी उक्त गाडी खरिद बिक्री गरेका थिए ।
असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान किर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो ।