काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
नाइमाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीले आर्थिक, यातायात तथा अन्य व्यवस्थापकीय सहयोगमार्फत उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएको संस्थाले जनाएको छ । नाइमाले विपद्को समयमा सहयोग गर्ने आफ्ना सदस्य संस्थाको योगदानको प्रशंसासमेत गरेको छ ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन् । उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरिन् ।
खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाप्रति नाइमाले उच्च सम्मान व्यक्त गरेको छ ।
साथै, अटोमोबाइल तथा यातायात क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न नाइमाले आग्रह गरेको छ ।