काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट जानकारी लिएका छन् ।
बाढी प्रभावितको उद्धार तथा राहतका लागि पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी रूपमा काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रवक्ता खरेलका अनुसार सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी पार्टीको उपलब्ध संयन्त्र र स्वयंसेवकलाई परिचालन गर्न निर्देशन दिएका छन् । उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उद्धार तथा राहतका कामलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।
भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेले निर्देशन दिएको रास्वपाले जनाएको छ ।
यसै क्रममा सभापति लामिछानेले बाढी प्रभावित स्थानीय तहका पार्टी सभापतिसँग समेत छलफल गरी त्यहाँको पछिल्लो अवस्था, उद्धार तथा राहतका क्रममा देखिएका समस्या र आवश्यक सहयोगबारे जानकारी लिएका छन् ।