• Menu

त्रिशूली र तादीका पुल बगेपछि नदीपारिका होल्डिङ सेन्टरमा हेलिकप्टर र ड्रोनबाट राहत पुर्‍याइँदै

नेपाल प्रफिट

२०८३ भदौ १४, आइतबार १३:२२

त्रिशूली र तादीका पुल बगेपछि नदीपारिका होल्डिङ सेन्टरमा हेलिकप्टर र ड्रोनबाट राहत पुर्‍याइँदै

नुवाकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरिरहेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रूपमा संकलन गरी प्रभावितको आवश्यकता र अवस्थाका आधारमा विभिन्न होल्डिङ सेन्टरमा पठाइएको हो ।

नुवाकोटमा हाल १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । तीमध्ये विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक-एक वटा छन् ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार दाता तथा इच्छुक व्यक्तिले उपलब्ध गराएका राहत सामग्री एकद्वार प्रणालीमार्फत संकलन भइरहेको छ । सडक तथा सवारीसाधन पुग्न नसक्ने स्थानमा हेलिकप्टरमार्फत समेत राहत सामग्री पठाउने गरिएको उनले बताए ।

स्थानीय तहको सहजीकरणमा होल्डिङ सेन्टरमा बाढीपीडितका लागि खाना तथा बासको व्यवस्था गरिएको छ । प्रत्येक केन्द्रमा स्वास्थ्य परीक्षण र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाइएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाढीबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्दै प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम भइरहेको छ ।

राहत वितरणमा भने केही असमानता देखिएको छ । एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि केही दाता तथा संस्थाले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर सिधै सामग्री वितरण गरेका छन् । यसका कारण केही केन्द्रमा पर्याप्त राहत सामग्री पुगे पनि दुर्गम तथा नदीपारिका क्षेत्रमा सामग्रीको अभाव देखिएको छ ।

विदुर नगरपालिका-५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले आफ्नो क्षेत्रमा तत्कालका लागि पर्याप्त राहत सामग्री आइसकेकाले अन्य प्रभावित क्षेत्रमा समेत पठाउन दातालाई आग्रह गरिएको बताए ।

हाल राहत सामग्रीमा चामल, दाल, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री बढी प्राप्त भइरहेको छ । खाद्य सामग्रीको तुलनामा लत्ताकपडा भने कम प्राप्त भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नुवाकोटका बेत्रावती, त्रिशूली, ढुंगे, सिमचौर र देवीघाटलगायत विदुर नगरपालिकाका बस्ती तथा किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल र मैलुङ क्षेत्र बाढीबाट प्रभावित छन् । बेलकोटगढी नगरपालिकाका ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटार क्षेत्रसमेत प्रभावित भएका छन् ।

नदीपारिका क्षेत्रमा राहत पुर्‍याउन कठिन

सदरमुकाम विदुर आसपासका क्षेत्रमा राहत वितरण सहज भए पनि त्रिशूली नदीपारिका बस्तीमा सामग्री पुर्‍याउन कठिनाइ भएको छ । केही संस्थाले आकाशबाट सञ्चालन हुने साना उपकरणको प्रयोग गरी राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्‍याउने प्रयास गरिरहेका छन् ।

विदुर नगरपालिकाका वडा नं १, ३, ६, ७, ९ र १२ का नदीपारिका बस्तीमा राहत पुर्‍याउन समस्या भएको हो । ती क्षेत्रमा त्रिशूली बजार, खड्गभञ्ज्याङ, चैनपुर, तुप्चे, सिलट्याङ्की र चारघरेलगायत स्थान पर्छन् ।

सदरमुकाम विदुरबाट त्रिशूली नदीपारि सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । तादी र कोल्पुखोलाका पुल बाढीले बगाएपछि बेलकोटगढी-७ स्थित महादेव माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्‍याउनसमेत हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ ।

शनिबार जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा स्थानीयले नदीपारिका क्षेत्रमा राहत वितरणलाई प्राथमिकता दिन संघीय सरकारसँग आग्रह गरेका थिए ।

बाढीका कारण पुल बग्दा वारि र पारिका विद्यालयमा अध्ययनरत केही बालबालिका परिवारसँग पुनर्मिलन हुन नसकेको अभिभावकले गुनासो गरेका छन् ।

होल्डिङ सेन्टरमा बाढीपीडितका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ । त्रिशूली अस्पतालसँगको यातायात सम्पर्क विच्छेद भएको अवस्थामा पीडितको शारीरिक तथा मानसिक अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

नुवाकोटमा बाढीबाट मृत्यु तथा बेपत्ताको यकिन विवरण अझै संकलन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीका अनुसार शनिबारसम्म बाढीमा परी बेपत्ता भएको भन्दै ८२१ जनाको निवेदन प्राप्त भएको छ ।

यसैबीच, आज बिहान पुनः त्रिशूली नदीको जलसतह बढेपछि नदी किनारमा रहेका शव व्यवस्थापनमा थप चुनौती देखिएको छ । शनिबार पहिचान हुन नसकेका शव व्यवस्थापनबारे सरोकारवालाबीच छलफलसमेत भएको थियो । प्रमुख जिल्ला अधिकारी रेग्मीले करिब तीन सय शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।