काठमाडौं । विश्व बैंकको नेपाल हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर)मा डेभिड सिस्लेन नियुक्त भएका छन् । विश्व बैंकले जुलाई १ देखि कार्यान्वयन हुनेगरी नेपाल, माल्दिभ्स र श्रीलंकाको कन्ट्री डाइरेक्टरमा सिस्लेनलाई नियुक्त गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
यसअघि विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री डाइेक्टरका रूपमा फारिस हदाद जेर्भोस कार्यरत थिए । सिस्लेन सन् २००१ मा विश्व बैंकमा जोडिएका हुन् ।
सुरुमा सहरी क्षेत्र हेर्ने अर्थशास्त्रीका रूपमा विश्व बैंक प्रवेश गरेका उनले यसबीचमा विभिन्न विभागमा फरक-फरक भूमिकामा रहेर काम गरेका छन् ।
देशीय निर्देशकमा नियुक्ति हुनुअघि उनी ल्याटिन अमेरिकामा सहरी, प्रकोप व्यवस्थापन र भूमिको अभ्यास प्रबन्धकका रूपमा कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ भूमिका र सरोकारवाला तथा साझेदारसँगको भेटका लागि उत्साहित रहेको सिस्लेनले बताएका छन् ।