• Menu

कर्जा विस्तार लक्ष्य ५ खर्ब ६७ अर्ब, जेठसम्म २ खर्ब ५४ अर्ब रुपैयाँ मात्रै

नेपाल प्रफिट

२०८१ असार ६, ०६:११

कर्जा विस्तार लक्ष्य ५ खर्ब ६७ अर्ब, जेठसम्म २ खर्ब ५४ अर्ब रुपैयाँ मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको तुलनामा निकै कम कर्जा प्रवाह हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आवमा ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ तर ११ महिनामा ५.२१ प्रतिशत मात्र कर्जा भएको छ ।

मौद्रिक नीतिको लक्ष्यअनुसार चालु आवमा करिब ५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्ने हुन्छ तर बैंक तथा वित्तीय संस्थाबाट जेठसम्म २ खर्ब ५४ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ ।

चालु आवको साउनदेखि जेठसम्ममा वाणिज्य बैंकहरूले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २ खर्ब २४ अर्ब मात्रै कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा मौद्रिक नीतिको लक्ष्यभन्दा आधा पनि कर्जा विस्तार नभएको राष्ट्र बैंकले तथ्यांकले देखाउँछ । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा २०८१ जेठ मसान्तसम्ममा बढेर ५१ खर्ब ३२ अर्ब पुगेको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । २०८० असार मसान्तमा ४३ खर्ब १८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा २०८१ जेठ मसान्तमा ४५ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो । कर्जा निक्षेप अनुपात ८०.०८ प्रतिशत छ ।

११ महिनामा निक्षेप संकलन भने अपेक्षाकृत रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ ।  २०८० असार मसान्तमा ५७ खर्ब ७१ अर्ब रहेको कुल निक्षेप २०८१ जेठ मसान्तमा बढेर ६२ खर्ब ४१ अर्ब पुगेको हो ।

समीक्षा अवधिमा ४ खर्ब ७० अर्ब निक्षेप बढ्दा वाणिज्य बैंकहरूको निक्षेप ४ खर्ब ५२ अर्ब रुपैयाँ बढेको छ । २०८० असार मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ५० खर्ब ८६ अर्ब रहेकोमा २०८१ जेठ मसान्तमा ५५ खर्ब ३८ अर्ब पुगेको छ ।