• Menu

दोस्रो पटकको अन्तर्वार्तामा पनि धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार अनुपस्थित, अब के हुन्छ प्रक्रिया ?

नेपाल प्रफिट

२०८१ असार ५, बुधबार १२:५३

दोस्रो पटकको अन्तर्वार्तामा पनि धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार अनुपस्थित, अब के हुन्छ प्रक्रिया ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवार दोस्रो पटकका लागि बोलाइएको समयमा पनि अनुपस्थित भएका छन् । पहिलो पटकको अन्तर्वार्तामा अनुपस्थित भएका उनीहरु दोस्रो पटकका लागि आज बुधबार बोलाइएको समयमा पनि अनुपस्थित भएका हुन् ।

असार २ गते बोलाइएको अन्तर्वार्तामा हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित भएपछि दोस्रो पटकका लागि अन्तर्वार्तामा बोलाइएको थियो ।

धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा पाँच उम्मेदवार छानिएका छन् । उनीहरुमध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भएका छन् ।

नेपाल धितोपत्र बोर्ड ऐनमा छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिको सिफारिसका आधारमा सरकारले एक जनालाई नियुक्ति गर्नेछ । तर, अन्तर्वार्ता प्रक्रियामा दुई जना मात्र सहभागी भएपछि प्रक्रिया रद्द हुने सम्भावना छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको हो । धितोपत्र बोर्ड पाँच महिनादेखि नेतृत्वविहीन छ । अध्यक्षका विषयमा विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकाले लामो समयदेखि नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताइएको छ ।