• Menu

समस्या र समाधान

स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र उपचार विधि, छोरीहरु ७ गुणा बढी पीडित

नेपाल प्रफिट

२०८१ असार ५, बुधबार १०:११

स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या र उपचार विधि, छोरीहरु ७ गुणा बढी पीडित

स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या के हो ?

प्रत्येक वर्षको जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा नै मनाउने गरिएको छ । स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो ।

स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्या धेरै कारणले हुने गर्छ । स्कोलियोसिसको समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ । यो जन्मदेखि नै पनि हुनसक्छ तर धेरैजसो १० वर्ष उमेर नाघिसकेका बालबालिकामा देखिन्छ ।

जन्मजातबाहेक नशासम्बन्धी समस्याको कारण पनि स्कोलियोसिस देखिन्छ । यो समस्या  हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाएका छौं । जसलाई हामी इडियोप्याथिक एडोलोसेन्ट स्कोलियोसिस (Idiopathic Adolescent Scoliosis) भन्छौँ ।

इडियोप्याथिक भनेको अहिलेसम्म कारण के हो भनेर पत्ता लागेको छैन, एडोलोसेन्ट भनेको १० वर्ष पूरा भएका बालबालिका र स्कोलियोसिस भनेको मेरुदण्ड बांगो हुने समस्या हो ।

यसको अनुपात छोराहरुको तुलनामा छोरीहरुमा बढी देखिन्छ । एक जना छोरामा देखियो भने सात जना छोरीहरुमा यो समस्या देखिन्छ ।

स्कोलियोसिस कसरी थाहा पाउने ?

घरमा बुबाआमाले अथवा स्कुलमा शिक्षक तथा साथीहरुले यो समस्या पत्ता लगाउँछन् । कसरी पत्ता लगाउँछन् भन्दा लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नुलगायत यसका लक्षण हुन् ।

स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाड माथि अर्कोतिर तल गएको देखिन्छ । यो छोराहरुमा भन्दा छोरीहरुमा ७ गुणा बढी देखिने गरेको पाइन्छ ।

यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ । मेरुदण्डको भाग बांगो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सोको विकासमा असर पुर्‍याउँछ । एउटा अवस्थामा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नु एकदमै जरुरी छ ।

यसको उपचार कसरी गरिन्छ ?

यसको उपचार कति डिग्री बांगो भएको छ, त्यसमा भर पर्छ । हामीले ढाड कति डिग्री बांगो छ भनेर एक्स-रे गरेर हेर्छौँ । ढाड बांगो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन । २५ डिग्रीभन्दा सानो छ भने यसलाई हामी निरीक्षणमा राख्छौँ । यस्तो केस आएमा हामीले फलोअपमा राखेर उपचार गछौँ ।

ढाड बांगो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामी पेटी लगाउन सुझाव दिन्छौँ । जसलाई हामीले स्पाइनल ब्रेस भन्छौँ । स्पाइनल ब्रेसले बांगोपन हुनबाट रोक्छ । बांगोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु जरुरी छ ।

अथवा बांगोपनालाई अझै बढ्नबाट रोक्न जरुरी छ । रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्छ । स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपालसहित विश्वभर यो समस्या देखिएको छ ।

हामीले ग्रान्डी अस्पतालमा वर्षको १५ देखि २० जनाको स्कोलियोसिसका समस्या भएका बालबालिकाको शल्यक्रियामार्फत उपचार गर्दै आएका छौँ । यसको उपचार ढाडको वांगोपना कति डिग्री छ, त्यसमा निर्भर रहन्छ । हालसम्म ग्रान्डी अस्पतालले २ सयभन्दा बढी बिरामीको शल्यक्रियामार्फत सफल उपचार गरिसकेको छ । नेपालमा पहिलो पटक सन् २००६ मा शल्यक्रियामार्फत यसको उपचार सुरु गरिएको हो ।

यसैले, स्कोलियोसिस अर्थात् मेरुदण्ड बांगो हुने समस्यालाई समयमै पहिचान गरौँ र समयमै यसको उपचार गरौँ ।

(डाक्टर विनोद विजुक्छे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अर्थोपेडिक तथा स्पाइन सर्जन चिफ कन्सल्टेन्ट हुन् । उनी अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् ।)