काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले सोमबार सुर्खेतमा इनार सफा गर्दा बेहोस भई दुई जनाको निधन भएको उल्लेख गर्दै श्रमिकको सुरक्षाका लागि व्यवसायजन्य सुरक्षासम्बन्धी कानुन निर्माणको आवश्यकता औँल्याए ।
उनले सामाजिक सुरक्षा कोषको प्रबन्धअनुसार असंगठित क्षेत्रका मजदुरलाई पनि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिए । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाले समेट्नुपर्ने उनको भनाइ छ ।
सांसद हृदयराम थानीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा उचित बजेटको प्रबन्ध नगरेको उल्लेख गर्दै गुनासो गरे । उनले सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदै डोल्पा, जाजरकोट, मुगु र हुम्लामा न्यून बजेट उपलब्ध गराइएको दाबी गरे ।
सांसद रघुजी पन्तले सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधाको विषयमा सदनको ध्यानाकर्षण गराउँदै उचित सेवा सुविधाको प्रबन्ध गर्न माग गरे ।
त्यस्तै सांसद हर्कमाया विकले मनसुनका कारण पूर्वी नेपालमा समस्या पैदा भएको र जनधनको क्षति भएको उल्लेख गर्दै उचित राहतको प्रबन्ध गर्न माग गरिन् ।
सांसद ज्ञानबहादुर शाहीले कर्णालीमा असाध्यै न्यून बजेट विनियोजन गरिएकामा असन्तुष्टि व्यक्त गरे । सांसद अमरेशकुमार सिंहले पनि बजेट विनियोजनमा असमानता रहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे ।