मनाङ । लालुपाते हाइड्रोपावर कम्पनीले मनाङस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेको छ । नासों गाउँपालिका-२ मा निर्माणाधीन ४९.९५ मेगावाटको दाना खोला जलविद्युत आयोजनाको प्रवर्धक कम्पनीले वडा नम्बर-५ मा अवस्थित यो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको हो ।
कम्पनीका अध्यक्ष एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्यालयका विद्यार्थीलाई ट्र्याक सुट वितरण गरेका हुन् । आयोजनाको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत औपचारिक कार्यक्रमको आयोजना गरी प्रभावित क्षेत्रमा पर्ने विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको कम्पनीले जनाएको छ । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक पद्मराज पन्तले दाना खोला आयोजनाको प्रवर्धक कम्पनीप्रति आवार व्यक्त गरे ।
त्यसैगरी, नासों गाउँपालिका-४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङले लालुपाते हाइड्रोपावर कम्पनीले स्थानीय समुदाय र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा सहभागी हुन मनाङ पुगेका कम्पनीका अध्यक्ष डाँगीले जलविद्युत आयोजना निर्माण गर्ने प्रवर्धक कम्पनीहरूले देशमा ऊर्जा क्षेत्रको विकास गर्ने मात्र नभई गाउँ-गाउँमा विकास र समृद्धि समेत भित्र्याएको बताए । ‘एउटा प्रवर्धक कम्पनीले दुर्गम क्षेत्रमा पुगेर आयोजना मात्रै बनाउँदैन, स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पनि योगदान गरिरहेको हुन्छ । यसले देशलाई समृद्धिको यात्रामा सहयोग पुग्छ,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासों गाउँपालिका वडा नम्बर-४ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङ, वडा नम्बर-५ का वडा अध्यक्ष थुतेन लामा, प्रवर्धक कम्पनीका नासोंस्थित साइट कार्यालयका प्रशासन प्रमुख नविन खतिवडा, सुरक्षा इन्चार्ज चोकबहादुर गुरुङ तथा कम्पनीका सहायक जनसम्पर्क अधिकृत अर्जुन गुरुङ लगायतको पनि उपस्थिति थियो ।